धादिङ, १८ असोज । ‘आगामी दसैं नयाँ घरमा मनाउनुपर्छ। टीका लगाउन नयाँ घरमा जाने तयारी गर्नुहोस,’ बेनिघाट रोराङ गाउँपालिका–२, बु्रसबाङका चेपाङलाई चार महिनाअघि पालिकाले बस्ती सारिदिने आश्वासन यसरी दिएको थियो। तर आश्वासन पूरा हुन अझै एक वर्ष लाग्ने देखिएको छ।
फेरि दसैं आयो तर आफूहरूलाई दिइएको वाचा पूरा नभएको गुनासो बु्रसबाङका सोमीलाल चेपाङले पोखे। ‘पुस्तौंदेखिको थातथलो छाड्न राजी भएका थियौं’, उनले भने, ‘यो वर्षको दसैं नयाँ घरमा मनाउने भनेका थिए तर भनेअनुसार भएन। हामीलाई भुक्काइयो, आशामात्रै देखाइयो।’
समुन्द्री सतहबाट एक हजार आठ सय ४५ मिटर उचाइमा बु्रसबाङ विकट बस्ती हो। यहाँ ३६ घरपरिवार चेपाङ बस्छन्। अन्नको कुरा त परै जाओस् पेटभरि पानीसमेत खान नपाउनुको पीडा उनीहरूले वर्षौंदेखि भोग्दै आएका छन्। बिरामी र सुत्केरी भएका बेला पैंचो गरेर पानी खानुपर्ने बाध्यता छ ब्रुसबाङमा। यहाँका चेपाङ खाद्यान्न, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबाट वञ्चित छन्। वर्षको चार महिना उत्पादन गरेको अन्नले थेग्छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




