‘चोखा’ पेलेर दसैं बोलाउँछन् कुमाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

‘चोखा’ पेलेर दसैं बोलाउँछन् कुमाल

chokha poldai kumal

काठमाडौं, १७ असोज । नेपालीको महान् चाड दसैं सुरु भइसकेको छ। ठाउँअनुसार रीतिस्थिति, रहनसहन र संस्कार फरक-फरक हुने गर्छ। यस्तै फरक विशेषतामध्ये पर्छ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बसोवास गर्ने कुमाल समुदायको ‘चोखा’ पेल्ने परम्परा।

ठूलो काठको खाँबोलाई काठकै साँचो बनाई ३÷४ जना मानिसले धकेलेर त्यसलाई घुमाउँछन्। खाँवो अड्याउने ठाउँमा प्वाल पारिएको मोटो र बलियो फलेकजस्तो काठ हुन्छ। त्यहाँ तिल, तोरीजस्ता तेलहन वस्तुहरू हाल्ने र घान लगाउन एक जना बस्छन्। खाँवो घुमाउनेको गतिअनुसार घान हालेर काठले नै पेलेर ‘चोखा’ निकाल्ने गरिन्छ।

दसैं, तिहार, छठजस्ता ठूला चाडपर्वमा आवश्यक पर्ने तेल परम्परागत काठे कोलमा पेलेर निकाल्ने कामलाई ‘चोखा पेल्ने’ भनिन्छ। आफ्नै बारीको तेलहन पदार्थ पेलेर शुद्ध र चोखो तरिकाले तेल निकाल्ने कामलाई उनीहरूको स्थानीय भाषामा चोखा पेल्ने भनिएको हो।

आधुनिक मेसिनमा तोरीलगायत अन्य तेलहन वस्तु पेल्दा छिटो, सस्तो र सजिलो हुने भए पनि त्यसरी पेलेर निकालिएको तेल चोखो नहुने जनविश्वास कुमाल समुदायमा छ। प्रविधिको विकाससँगै ठाउँ-ठाउँमा आधुनिक र विद्युतीय मिल स्थापना भएको छ। आधुनिक मिल स्थापनासँगै परम्परागत तेल पेल्ने प्रविधि ‘काठेकोल’ विस्थापितजस्तै भएका बेला त्रिपुरासुन्दरीको कुमाल समुदायमा भने यो प्रविधि अझै कायम छ। कुमाल समदायले गाउँघरमा तोरी, तिल, झुसेजस्ता तेलहन पदार्थ परम्परागत काठेकोलमा पेलेर तेल निकाल्ने गर्छन्। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।