ललितपुर, १६ असोज । सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका सांसद समेत रहनु भएकी भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका पर्यटकीय स्थलहरु मंगलबजारलगायतका ठाउँमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताउनु भएको हो ।
बिहीबार ललितपुरमा एक कार्यक्रमका बीच उहाँले आफ्नो ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको उल्लेख गर्नुभयो । नेतृ भुसालले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने पनि बताउनुभयो ।
नेतृ भुसालले आफूले सो कोष अन्तरगत छनौट हुने सबै योजना ललितपुरका स्थानीय उपभोक्ता समितिसँग परामर्श गरेर तय गर्ने उल्लेख गर्नुभयो ।