नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’ | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

india army

काठमाडौं, १४ असोज । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो।

तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं। भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं’, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘हामीले फोटो खिच्यौं र उनीहरूलाई रोक्न भन्यौं। तर उनीहरू नसुनेझैं गरेर गए।’

साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो। क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए।

छ्यालेकमा नेपालको प्रहरी चौकी छ। चौकीमा २३ प्रहरी छन्। त्यहाँ प्रहरीले नेपाली भूभागमा आएर पटकपटक भारतीय सेनाले गस्ती गर्ने गरेको गुनासो गरेको साउदले बताए। ‘पुलिसले नै भने, माथि भनिदिनुपर्‍यो, यहाँ भारतीय सेना आइरहन्छन्’, उनले भने।

चीनलाई निगरानी गर्न भारतीय भूमिबाट अप्ठ्यारो भएकाले नेपाली भूमि प्रयोग गर्ने गरेको स्थानीयले बताएको क्याम्पस प्रमुख साउदको भनाइ छ।  यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।