कांग्रेसमा बढ्यो अनुशासन उल्लंघन | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

कांग्रेसमा बढ्यो अनुशासन उल्लंघन

nepali congress

काठमाडौं, १० असोज । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन सिन्धुपाल्चोकमा पार्टी केन्द्रको निर्देशनविपरीत दुई समानान्तर कार्यक्रम भए। पार्टी केन्द्रले सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिए पनि सिन्धुपाल्चोकमा भने दुई छुट्टछुट्टै कार्यक्रम भए।

कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले आफ्नो उपस्थितिमा बेग्लै कार्यक्रम गरे भने जिल्ला कार्य समितिले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको नेतृत्वमा सदरमुकाममा कार्यक्रम आयोजना गर्‍यो। सोही दिन सप्तरीमा कांग्रेस नेताहरूबीच मञ्चमै हात हालाहालको स्थिति उत्पन्न भयो। सांसद तेजुलाल चौधरीले जिल्ला सभापति दिनेश यादवले आफूलाई मञ्चबाट घोक्र्याएर निकालेको आरोप लगाए।

कांग्रेसमा भएका आन्तरिक द्वन्द्वका पछिल्ला उदाहरण हुन् यी। पार्टीभित्र कायम गुटउपगुटको राजनीतिले कांग्रेसमा अनुशासनहीनता बढेको भन्दै आलोचना भइरहेको छ। बस्नेत संस्थापन सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने यादव संस्थापन इतर।

कांग्रेस सभापति देउवाले पार्टीका आन्तरिक फोरममा सधैं एउटा विषयलाई दोहोर्‍याउने गरेका छन्, त्यो हो अनुशासनको विषय। पार्टीभित्र अनुशासनहीनता बढेको भन्दै रुष्ट देउवाले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने घोषणा त गर्छन् तर कारबाही भने गरेका छैनन्। यो समाचार अन्नपुर्ण दैनिकमा लेखेको छ ।