ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराज निर्वाचित, उमेशलाल ७ मतले पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराज निर्वाचित, उमेशलाल ७ मतले पराजित

काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराज श्रेष्ठ निर्वाचित हुनु भएको छ । नेपाल ओलम्पिक कमिटीको शनिबार ललितपुरको सातदोबाटोस्थित कमिटीको कार्यालयमा सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनु भएको हो ।

जीवनराम यस अघि पनि सो कमिटीको अध्यक्ष हुनु भएको थियो । महासचिवमा जीवनराम प्यानलकै निलेन्द्रराज श्रेष्ठ विजयी हुनु भएको छ । महासचिव श्रेष्ठ १५ मत पाएर विजयी हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी पुरेन्द्र विक्रम लाखेले १२ मत पाउनु भएको थियो । निर्वाचनमा सबैभन्दा बढि २६ मत पाएर ज्योति राणा उपाध्यक्षमा निर्वाचित हुनु भयो ।

त्यसैगरी सुनिलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य र चतुरानन्नराज बैद्य पनि उपाध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन आयोगका संयोजक लोकभक्त राणाले जानकारी दिनु भयो ।

उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन विजयी हुनु भयो । त्यसैगरी सचिव पदमा तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य विजयी हुनु भयो । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहनु भएका केशवकुमार विष्ट भने सचिवमा पराजित हुनु भयो ।

यसैबीच, नवनिर्वाचित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको टीमले सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले निर्वाचनमा जीत–हार स्वभाविक हुने उल्लेख गर्दै सबैले मिलेर मुलुकको खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने पनि स्पष्ट पार्नु भयो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो टीमको जीतलाई समग्र नेपालको खेलकुद क्षेत्रको जीतको रुपमा लिएर अघि बढने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);