काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा मन्त्रालय विषयवस्तुको गाम्भिर्यतामा संवेदनशील नबनेको भन्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्नुभएको हो ।
डेंगुबारे यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई रुलिङ्ग गरेपछि आफ्नो धारणा राखेका सांसद गौतमले रुलिङ्ग गरेर मात्रै नहुने भन्दै आक्रोश पोख्नुभयो ।
उहाँले भन्नुभयो “स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? चुप लागेर बसेर रुलिङ्ग गरेर । टेबुल ठोकेर र सत्ता पक्ष कै सांसदले विरोध जनाएर मात्रै पुग्दैन । दुई तिहाईको एब्सुल्युट गर्भरमेण्ट हो यो । यतिबेला तपाईहरुले दिन नसकेको सुशासन कस्ले दिन सक्छ ? यतिबेला यो रुलिङ्ग गर्दिएको भरमा मात्रै यो झारा टार्ने काम । कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्रै पुग्दैन । म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजिनामा माग्छु । र सरकार यसरी मुक दर्शक बनेर बस्न हुँदैन सभामुख महोदय । तत्काल संकटकालको घोषणा गर्नुपर्छ । देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ती जनाउँदै तत्काल राजिनामाको माग गर्छु ।”
पछिल्लो तथ्याङ्क अनुसार, मुलुकभर ५ हजार जना डेंगुबाट संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भईसकेको छ ।