डेंगु नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै सांसदले गरे सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डेंगु नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै सांसदले गरे सरकारको आलोचना

काठमाडाैं, २६ भदाै । सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबेनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्यमन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको बैठकको शुन्य र विशेष समयमा डेंगु संक्रमण नियन्त्रणका बारेमा आफुहरुले उठाउँदै आएको आवाजको सुनुवाई नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठ रुलिङ नभए आफुले विरोध जनाईरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाब दिनुभएको थियो ।

उहाँले भन्नुभयो “डेंगु डेंगु भनेर कराउँदा कराउँदै थाकिसक्यौ । सभामुख महोदय, डेंगुको बारेमा यो सरकार बोल्दैन । अमेरिकाको सरकारले बोल्दियो । अमेरिकनहरु नेपालमा डेंगु आतंक छ नजानु । भएका अमेरिकन नागरिकहरु नेपालमा सचेत रहनु । यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय ? त्यसकारण सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । मन्त्री डेंगुको पीडित, आँखा विशेषज्ञ सन्दुक रोहित डेंगुको पीडित, अब हामी मध्ये कति जना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो सभामुख महोदय ? अबिलम्ब स्वास्थ्य मन्त्रीलाई तत्काल रुलिङ गरियोस् । अहिले नै स्वास्थ्यमन्त्री यहाँ आएर यसको बारेमा सरकारको आधिकारीक धारणा के हो ? डेंगु के हो ? कसरी लाग्छ ? उपचार कसरी गर्ने हो ? बच्ने उपाय के हो ? मरेका लाई के गर्ने ? सरकारको आधिकारीक धारणा ल्याईयोस् होइन भने मेरो विरोध रहने छ । सभामुख महोदय, रुलिङ चाहन्छु ।”

नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगु प्रकोप हो या महामारी भन्ने स्पष्ट पार्न सरकारसंग माग गर्नुभयो । डेंगुको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय, इपिडियोमियोलोजी महाशाखा लगायत सम्बन्धीत निकाय गम्भीर बन्न नसकेको भन्दै उहाँले तत्काल सर्वसाधरणमा फैलिएको डेंगु सक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “महामारी हो भने सम्पुर्ण साधन स्रोतको परिचालन गरि ‘हेल्थ इमरजेन्सी ’घोषणा गरि महामारीलाई समाप्त पार्नु पर्यो । प्रकोप हो भने इपिडियोमियोलोजि महाशाखा के हेरेर बसेको छ ? के सुतेर बसेको छ ? स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ ? जनतामा यो आतंक, भय तुरुन्त समाप्त पार्ने काम गरियोस् ।”

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगुको प्रकोपले महामारीको रुप लिईसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेबाट सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

सांसदहरुले सदनलाई डेंगुको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख कृष्ण बहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ्ग गर्नुभएको थियो ।

उहाँले भन्नुभयो “केही दिन यताको नियमति बैठकमा र विशेष गरेर आजको बैठकमा डेंगुको महामारी सम्बन्धमा माननिय सदस्यहरुको कुरा उठेको छ । यस सम्बन्धमा म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु । साथै यस विषयमा सदनलाई यथासिघ्र जानकारी गराउन निर्देशन गर्दछु ।”

केही दिनदेखि संघीय संसदका दुवै सदनको बैठकको विशेष र शुन्य समयमा डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराउँदै यथार्थ विवरण सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);