काठमाडौं, २३ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ । वन नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडक लाईट व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको हो ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गर्नु भयो । उहाँले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा अघि सार्नु भयो । जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई अझ बढि प्रभावकारी बनाउने उहाँको भनाई छ ।
प्रमुख ढकालले ट्राफिक व्यवस्थापन सम्बन्धि कानुन कार्यान्वयनमा पनि कडाई गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसैबीच, महाशाखाले चोरी भएका १८ वटा मोटरसाईकल सवारी धनीलाई बुझाएको छ । सोमबार रामशाहपथस्थित महाशाखाको कार्यालय परिसरबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भई नियन्त्रणमा लिएका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरेको हो ।
त्यस क्रममा सो मोटरसाईकल चोरीमा संलग्न काठमाडौं नागार्जुनका २६ वर्षीय प्रदिप खड्गी, सोही ठाउँका २५ वर्षीय रोशन खड्कालाई पनि पक्राउ गरिएको महाशाखाका प्रमुख ढकालले जानकारी दिनु भयो । त्यसैगरी मोटरसाईकल चोरीमा संलग्न चितवनको २० वर्षीय अञ्जन विश्वकर्मालाई पनि काठमाडौंको सितापाईलाबाट पक्राउ गरिएको छ ।