काठमाडौं, २१ भदौ । वीरगन्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रमणले चार वर्षअघि काठमाडौं, वसन्तपुरमा भएको यस्तै घटना सम्झाइदिएको छ ।
२०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एकाबिहानै जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए ।
यी दुवै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्वीकार हुँदाको प्रतिक्रिया नै हो । यसअघिका यस्ता घटना पनि प्रेमकै प्रतिशोधमा भएका देखिन्छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ यता एसिड प्रहारका घटनाबाट १३ महिला र ३ पुरुष पीडित भएका छन् । अधिकांशमा किशोरीहरू पीडित छन् भने घटनाको अन्तर्यमा प्रेमसम्बन्ध र प्रतिशोध मिसिएको छ । प्रहरीको तथ्यांकले पाँच वर्षयता एसिड प्रहारका घटनाबाट पीडित बन्ने महिलाको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा एसिड प्रहारबाट ३ महिला पीडित बनेका थिए भने २०७५/७६ मा ४ जना पीडित छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।