काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासमा जग्गा लिने र बेचबिखन गर्ने सबैसँग बयान लिने भएको छ । अख्तियारले बुधबार ५८ जनाका नाममा सूचना प्रकाशित गरी एक साताभित्र बयानका लागि डाकेको छ ।
५८ जनामा चार जनाबाहेक सबै ललिता निवासको जग्गाको कारोबार गरेका व्यक्ति हुन् । चार जना भने कर्मचारी र जग्गा किन्नेका आफन्त रहेको अख्तियार स्रोतले बतायो ।
‘बालुवाटारमा जग्गा लिने र कारोबार गर्ने सबैलाई एकपटक सोधपुछ गर्नुपर्ने भयो,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘घरठेगाना पत्ता लगाउन कठिन भएकाहरूका हकमा मात्रै पत्रिकामा सूचना निकालिएको हो । अरू कतिपयलाई सोझै सम्पर्क गरेर बोलाइएको छ ।’