काठमाडौं, १९ भदौ । सामाजिक संस्थाको जग्गा बिक्री गर्ने दुई नेतालाई नेकपा बेलबारी कमिटीले पार्टीबाट निलम्बन गरेको छ । पूर्वसभासद तथा तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन समिति सदस्य हर्कमान तामाङ र जिल्ला कमिटी मोरङका पूर्वसदस्य शिव बराल दुई महिनालाई निलम्बनमा परेका हुन् ।
बराल तत्कालीन बेलबारी गाविसमा दुई कार्यकाल अध्यक्ष भएका थिए । संगठित सदस्य रहेका उनीहरूलाई बुधबार निलम्बन गरिएको पार्टीले जनाएको छ ।
प्रकरणपछि नेकपा बेलबारी नगर कमिटीले सचिव रविन थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तामाङ र बरालले सार्वजनिक संस्थाको जमिन नियतवश बिक्री गरेको ठहर गरी कारबाही माग गर्दै प्रतिवेदन बुझाएको थियो । दुवै बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीका सल्लाहकार पनि हुन् ।