काठमाडौं, १७ भदौ । केही सातादेखि राजधानी लगाएत देशका बिभिन्न जिल्लामा डेंगुको प्रकोप बढिरहेको छ । जसका कारण यसलाई नियन्त्रण गर्न सकिएको छैन । डेंगुको महामारी फैलिएसँगै अन्य सरुवा रोगहरु पनि बढेकाले अस्पतालमा बिरामीको संख्या बढेपछि शैय्या अभाव भएको हो ।
एक सय शैय्या क्षमताको टेकु अस्पतालमा २४ शय्या डेंगु संक्रमितका लागि छुट्याइएको छ । तर, दैनिक १०० जना डेंगु संक्रमित बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले आवश्यक्ता परेको खण्डमा केही शैय्या थप्नुका लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउनुभयो ।
सरुवारोगका बिरामीको मात्रै उपचार गर्ने अस्पताल भएकाले र सरकारी अस्पताल अन्य अस्पतालको तुलनामा सस्तो हुने भएकाले देशभरबाट डेंगु संक्रमित बिरामी भर्ना हुन सरुवारोग अस्पताल टेकु आएको बिरामीहरुको भनाइ छ ।

डेंगुको संक्रमण हालसम्म झापा, सुनसरी, मकवानपुर, चितवनमा अत्याधिक बढेको विभागले जनाएको छ । भदौ ११ गतेको तथ्याङक अनुसार राजधानी काठमाडौंमा ६१, भक्तपुरमा १२, ललितपुरमा १२ जनामा डेंगुको संक्रमण देखिएकोे छ।
उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत डेंगु संक्रमण
डेंगुका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत डेंगु संक्रमण भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत दश जना कर्मचारी डेंगुका कारण बिरामी परेको सरुवारोग अस्पतालले जनाएको छ ।
देशभर पाँच हजारभन्दा बढी डेंगुका बिरामी देखा परिसकेका छन् । स्वास्थ्य मन्त्रालयले मन्त्रालय एक्लैले डेंगु नियन्त्रण गर्न नसकिने बताउँदै आएको छ। मन्त्रालयले लामखुटृेबाट सर्ने डेंगु नियन्त्रणको लागि नेपाली सेना नै परिचालन गर्नु पर्ने आवश्यक्ता औंल्याएको छ




