काठमाडौं, ९ भदौ । तनहुँ – रेवती आलेमगर (५८ वर्ष) व्यास नगरपालिका–५ मानहुँमा २०३२ सालदेखि बस्न थालेकी हुन्। १४ वर्षमै विवाह भएर घर सम्हाल्न मानहुँ उक्लेकी उनलाई सुरुताका घर चिन्नै मुस्किल थियो। ‘बिहे भएको केही दिनपछि घाँस बोकेर फर्किंदै थिए, झुक्केर अर्कैको घरमा छिरेछु,’ विगत सम्झँदै रेवतीले भनिन्, ‘चारैतिर गुजुमुज्ज परेका घुमाउने घर, सानो गोरेटोबाट भित्रिनुपर्ने, आफ्नो ठानेर अर्कैकोमा छिरेछु। पछि बल्ल आफ्नो घर चिनेर फर्किएँ।’
रेवती अहिले पनि त्यही गाउँमा बस्छिन्। तर उनलाई झुक्याउने कुनै घर त्यहाँ बाँकी छैनन्। बरु उनी एक्लिँदै गएकी छन्। रेवतीले विवाह गरेर गाउँ पुग्दा मानहुँको त्यो बस्तीमा ७० घर थिए, अहिले जम्मा सात घर छन्। ती पनि कति बेला भत्किने हुन्, असाध्य जीर्ण छन्। तर पनि जसोतसो मान्छे बसेका छन्।
‘यहाँ सबै घुमाउने घर थिए। म विवाह गरेर आउँदा ७० घर थिए,’ रेवतीले विगत सुनाइन, ‘अहिले त एक्लै पो हुन थालेकी छु। हिजोका घुमाउने घरको अहिले नामनिसानै छैन। सिंगो बस्ती नै झाडीमा हराइसकेको छ। जसोतसो अडिएका घर पनि जीर्ण छन्। कुन बेला भत्किने हुन् भन्ने अवस्था छ। तर पनि बुढाबुढी बसेका छन्।’ यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।




