काठमाडौं, ५ भदौ । दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर रकम हिनामिना गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैंकमा नक्कली ऋणी खडा गरी हिनामिना गरेको पाइएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपाल शर्माले लेखेका छन् ।