काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उहाँले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनुभएको हो ।
विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पुरा हुन नसकेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले जिद्धी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गर्नुभयो ।
उहाँले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी संबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका भनाइका खण्डन समेत गर्नुभयो । उहाँले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो ।