काठमाडौं, ४ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापान उडानको सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ । नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमा निगमले उत्तरी छिमेकी चीनको ग्वान्जाओमा उडान गर्नको लागि समेत प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
नेपाललाई युरोपियन यूनियन (ईयू)को गम्भीर सुरक्षा चासो (कालोसूची)मा राखेको भन्दै चीनले नेपालको हवाई उड्डयन र निगमको सेफ्टी अडिट गर्न लागेको निगमले जनाएको छ । निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार अगस्ट तेस्रो साता चिनियाँ टोली आएर सेफ्टी अडिट गर्न लागेको हो ।
ग्वान्जाओमा जनरल सेल्स एजेन्ट ९जीएसए० नियुक्त भइ उक्त कम्पनीले नेपालमा सम्झौतासमेत गरेर फर्किएको छ भने निगमले उपनिर्देशक शैलेश कंसाकारलाई स्टेसन म्यानेजरमा नियुक्ति गरेको छ । चीन उडानका लागि आन्तरिक तयारी तिब्र गतिमा भइरहेको निगमको भनाइ छ ।
यता, निगमले भदौ १२ गतेबाट जापानको ओसाका उडान गर्ने तयारी गरिरहेको छ । निगमले यसअघि असारमा उडान गर्ने घोषणा गरे पनि आन्तरिक तयारी पूरा नभएको भन्दै उडान तालिका सारेको थियो । निगमले एयरबस ३३०–२०० विमानबाट जापानको ओसाका उडान गर्न लागेको सह–प्रवक्ता मिश्रले बताए । उनले भने,“अव निगमले जापान उडानको सबै प्रक्रिया पूरा गरेको छ, समयमा नै उडान हुनेछ ।”
ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा उडान भर्ने निगमको योजना छ । २७४ सिट क्षमताको एयरबस ३३०–२०० मा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट रहेका छन् । निगमले १२ वर्षपछि जापानमा सीधा उडान गर्न लागेको हो । निगमले विमान अभाव देखाउँदै वि.सं. २०६४ बाट उडान बन्द गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।




