काठमाडौं, ३ भदौ । सांसदहरुले देशको समसामियक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधि सभाको मंगलवारको बिशेष समयमा नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायत मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउदा पनि सम्बोधन नभएको भन्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेको गुनासो गर्नुभयो ।उहाँले अबिरल बर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताको यथाशिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन माग गर्नुभयो ।
नेपाली कांग्रेसकै सांसद भीमसेन दास प्रधानले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्ति बाट नगरी बौद्धिकताको आधारमा गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
राजपाकी सांसद अमृता अग्रहरीले मधेश आन्दोलनको बिषयमा सर्बाेच्च अदालतका पूर्वन्यायाधीस गिरिस चन्द्र लालको अध्यक्षतामा गठित आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
त्यसैगरी बिशेष समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।