राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन सकेन : बिमल कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन सकेन : बिमल कोइराला

काठमाडौं, ३२ साउन । पूर्वमुख्य सचिव बिमल कोइरालाले राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताउनुभएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उहाँले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताउनुभएको हो ।

सधै सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमता अनुसार काम गर्न नसकेको टिप्पणी उहाँले गर्नुभयो । राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको तर्क उहाँले गर्नुभयो ।

उहाँले भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सबै भन्दा राजनीतिक नेतृत्वका मुहान नै सफा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सुधार माथि बाटै गर्नुपर्छ । टाउको बाटै नुहाउनुपर्छ । खुट्टा मात्रै पखालेर हुँदैन ।”

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उहाँले गर्नुभयो । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उहाँले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गर्नुभयो । प्रदेशलाई अधिकार नदिनुलाई उहाँले “संघीय सरकारको हिनताबोध र लघुताबोध” भएको टिप्पणी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);