सबै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

सबै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गरिने

काठमाडौं, २४ साउन । प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरेका छन् । खाद्य बस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैले १/१ वटा खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन् ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाँडबाँडको बेलालाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री लिला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले खाद्य बस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरुको भनाई छ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य बस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिनु भयो ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौडामा दुध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिनु भयो । उहाँले चाडबाडका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोत, साधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग आग्रह गर्नु भयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य बस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको जानकारी दिनु भयो । उहाँले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिनु भयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुडाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गर्नु भयो । उहाँले कर्णाली खाद्यन्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

यता, संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैं, तिहारजस्ता चाँड पर्वका बेला हुने मूल्यवृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीव्रता दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नु भयो । उहाँले चाँडबाँडका बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा महानगरपालिका र उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले पनि चाँडबाँडको बेला उपभोक्तालाई मारमा नपार्ने गरी बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);