काठमाडौं, २१ साउन । माउन्टेन टेलिभिजनमा कार्यरत शालिकराम पुडासैनीलाई चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला पारिएको छ ।
पत्रकार पुडासैनीले आत्महत्या गरेका हुन कि उनको हत्या भएको हो ? संचारर्मीहरुलाई यो खवर सजिलै बिश्वास गर्न गाह्रो भइरहेको छ । यो दुखद घटना कसरी भयो ? छानबिन गर्नु पर्ने चौतर्फी दवाब बढेको छ ।
संचारकर्मी नारायण अधिकारी र रोशन श्रीवास्तवले पत्रकारले आत्महत्या रोज्नै नसक्ने बताउँछन् । घटनाको प्रकृति हेर्दा पत्रकारले आत्महत्या गरेको बिश्वास गर्न नसकिने भन्दै पत्रकार महासंघ, सरकार र प्रहरी प्रशासनले छिटो भन्दा छिटो छानवीन समिति गठन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
त्यस्तै पत्रकार जन्मदेव जोशीले पछिल्लो समयमा पत्रकारहरुले आफ्नो समाचार लेखेकै भरमा कतिपय अवस्थामा धम्की आउने र कसै कसैले त ज्यान गुमाउनुपरेको घटना बढ्दै गएको बताउनु भयो ।
त्यस्तै कतिपय अवस्थामा आर्थिक कारण र कामको प्रेशरको कारण पनि आत्महत्या रोज्ने गरेकाले यस बिषयमा मिडिया संचालकदेखि सरकारसम्म सम्बेदनशील हुनुपर्ने समय आएको उहाँको भनाइ छ ।
समाचार संकलनका लागी गएका पुडाशैनीको सोमबार राति १० बजेतिर ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । दिउँसो साढे तीन बजेतिर होटेलमा बसेका पुडासैनी राति खाना खान नआएपछि भित्रबाट बन्द रहेको ढोका फोडिएको थियो । पत्रकार पुडासैनीले माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।