अपेक्षा तिमिल्सेना
काठमाडौं, २० साउन । कुनै पनि प्रत्यक्ष लाभको आश नगरी हरेक नागरिकले राज्यलाई कर तिरिरहेका हुन्छन्। शान्ति सुरक्षा, विकास निर्माण, सामाजिक सुरक्षा जस्ता विभिन्न सेवा सुविधा कर बाटै परिपूर्ति हुने गर्दछ । यसरी जनताले कर तिरिरहदा पनि जनताले पाउनु पर्ने सेवा सुविधा नपाएको जनगुनासो भने बढिरहेको छ । सडक, सार्वजनिक यातायात, पानी, टेलिफोन जस्ता सेवामा कर अनुसारको राज्यले सुविधान दिन नसकेको गुनासो बढी सुनिने गरेको छ ।
नागरिकको राज्यप्रतिको अनिवार्य दायित्व र राज्यको इन्धन पनि कर हो भनिन्छ । सडक निर्माण, याताथात, सञ्चार जस्ता विभिन्न सेवा सुविधा चुस्त दुरुस्त बनाउनका लागि राज्यले कर उठाउने गरेको हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा सरकारका नियमित कार्यहरू सञ्चालन गर्न, विकास निर्माणलाई तीव्रता दिन, सामाजिक उत्तरदायित्वका कार्यलाई अघि बढाउन र वैदेशिक सहायतामाथिको निर्भरता घटाउन राजस्व परिचालनको अनिवार्य आवश्यकता पर्छ।
राज्यलाई कानुन बनाई कर लगाउने अधिकार हुन्छ, तर करदाताको हितको बेवास्ता गरेर कर राजस्व जथाभावी खर्च गर्नु वा दुरुपयोग गर्नु कानुनसम्मत मानिँदैन ।
यस आधारमा नेपालमा न्यूनतम कर राजस्वबाट अधिकतम आर्थिक वृद्धि दर हासिल गर्ने र करदातालाई खुसी राख्न कर लगाउने भन्ने उद्देश्य देखिन्छ । यसो भएतापनि विपरीत कर असुली गर्न थालिएकोे र करको सहि ठाँउमा सदुपयोग हुन नसकेको सर्वसाधारणको गुनासो छ।
नेपालको प्रचलित कर कानुनअनुसार राजस्वका स्रोतहरूमा कर राजश्व तथा गैरकर राजश्व दुवै पर्दछन्। जसअन्तर्गत राज्यबाट प्रदान गरिने सेवाबापतको शुल्क, दस्तुर, दण्ड, जरिवाना, लाभांश, ब्याज, रोयल्टी, दान, दातव्य, उपहार आदिबाट गैरकर राजस्व संकलन हुन्छ भने कर राजस्व आयकर, सामाजिक सुरक्षा कर तथा सम्पत्ति करअन्तर्गत संकलन हुने गर्छ ।
यसरी जनताबाट उठाईएको कर बापत सर्वसाधारणलाई चुस्त दुरुस्त बनाउनको लागि राज्यले प्रयास गरिरहेको छ । यसबाट जनता पनि खासै असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको ललितपुर राजश्व विभागका वरिष्ठ अधिकृत वसन्त तिवारी बताउनुहुन्छ।
कर नागरिकको राज्यप्रतिको अनिवार्य दायित्व हो । जसरी प्राणीको लागि बाँच्न रगतको आवश्यकता पर्दछ त्यस्तै राज्यको लागि पनि अति आवश्यक कुरा हो राजश्व । कर तिरे अनुसारको सरकारले सेवा सुविधा दिनु राज्यको दायित्व हो । तर नागरिकले तिरेको कर के मा कसरी खर्च हुन्छ भनी राज्यले बुझाउन सकेको देखिंदैन ।
अनि कतिपय सेवाहरुमा नागरिकले तिरेको करको नागरिकले प्रतिफल पाउन नसकेको यथार्थ सबैसामु छ । पानी, बत्ती, संचार, सार्वजनिक यातायात, सडक, मालपोत जस्ता सेवामा नागरिकले कर तिरे अनुसारको सेवा पाउन नसकेको गुनासो दिनदिनै बढिरहेको छ ।