काठमाडौं, १६ साउन । मेलम्ची नगरपालिका-१ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति १ बजेतिर अज्ञात समुहले टावरमाथि आगजनी गरेको थियो ।
दुई वटा टायर र ग्याँसको सिलिन्डर बालेर टावरमाथि आगजनी गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी पुगेर धेरै क्षति हुनबाट बचाएको प्रहरीको भनाइ छ ।
सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लवले गएराति नै देशका विभिन्न स्थानका एनसेलको टावरमा आक्रमण गरेको हुनाले त्यहाँ पनि विप्लव समुहको हात हुनसक्ने प्रहरीले जनाएको छ ।
मंगलबार राति पनि मेलम्ची नगरपालिका १० शिखरपुरको वडा कार्यालयमा आगजनी भएको थियो । त्यसको पनि अहिलेसम्म कसैले जिम्मा लिएको छैन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।