महिला बेचबिखन रोकिएन | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

महिला बेचबिखन रोकिएन

manab bechbikhan

काठमाडौं, १४ साउन । विगतमा नेपाली महिलाको बेचबिखन भारतका कोठीहरूमा यौन शोषणका लागि हुन्थ्यो । अहिले भने बेचबिखनको क्षेत्र र प्रयोजन फैलिँदै गएको छ । विश्वका विभिन्न देशमा विविध स्वरूपमा मानिसको बेचबिखन हुने गरेको छ ।  भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको छ ।

दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पु¥याइएका जानकारी प्रहरीमा आउने गरेका छन् ।  होटल तथा रेस्टुराँहरूमा रोजगारी दिने प्रलोभनमा पारी नेपाली महिलालाई बाध्यात्मक श्रम र यौन शोषणका लागि ती देशमा पु¥याइने गरेको पाइन्छ । नेपाल सरकारले मानव बेचबिखनलाई रोक्ने कार्यलाई उच्च प्राथमिकतामा राखे पनि परिणाम भने आशलाग्दो आएको देखिँदैन ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले यौनदासीका रूपमा भारतमा बेचिने प्रवृत्ति अहिले खाडी मुलुक र अफ्रिकी मुलुकमा फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दक्षिण एसियाकै श्रीलङ्का, माल्दिभ्सलगायत देशमा समेत महिला यौन शोषणका लागि पु¥याइएका सूचनाहरू आउने गरेका छन् । ” नेपाल प्रहरीमा आर्थिक वर्ष २०७५÷७६ मा मात्र १९० मुद्दा दर्ता भएका छन् । २०७४÷७५ मा जम्मा ३०५ वटा बेचबिखन र ओसारपसारका मुद्दा दर्ता भएका थिए ।

औषधोपचार, लोभलालच, विवाह, आफन्त भेटाउने, धाकधम्की, ललाइफकाई, जागिरको प्रलोभन, विदेश घुम्नेजस्ता बहानामा मानव बेचबिखन र ओसारपसार हुने गरेको भनाइ प्रहरीको छ । यस्ता घटनाका अधिकांश प्रभावित भने बालक र पुरुषभन्दा बालिका र महिला हुने गरेको तथ्याङ्क छ ।

कमी आएन बेचबिखन

यौन व्यवसाय र शोषणका लागि महिला बेचबिखनको अवस्थामा पनि कुनै कमी नआएको शक्ति समूहका कानुनी तथा तालिम संयोजक दिलीप कोइराला बताउनुहुन्छ । केन्या, तान्जानिया, जापान, चीन, कोरियालगायत देशमा चेलीबेटीको ओसारपसार हुने गरेको उहाँले बताउनुभयो । रोजगारीकै लागि भनी गएका महिलाले पनि यौन शोषण भोग्नु परेको छ । त्यस्तै दुबई, कतारजस्ता खाडी मुलुकमा लगिने चेलीबेटीलाई पनि अघोषित रूपमा यौन व्यवसायमा लगाइएको पाइएको छ । चीनमा बच्चा जन्माइदिन र जापानमा श्रममा लगाई आम्दानी खान नेपाली चेलीबेटी पु¥याइने घटना पनि पाइएको कोइरालाले बताउनुभयो ।

उद्धार गरिएका चेलीबेटीको दिगो पुनस्र्थापना समस्या पनि जटिल भएको भनाइ विभिन्न सङ्घसंस्थाको छ । पुनस्र्थापनाको तथ्याङ्क धेरै भए पनि उनीहरू पुनः बेचबिखनमा परेका घटनाको सङ्ख्या पनि धेरै रहेको उहाँको भनाइ छ । उनीहरू पुनः बेचबिखनमा नपरून् र सम्मानित जीवन बाँच्न सकून् भन्नका लागि सरकारले पुनस्र्थापनाको मापदण्ड बनाउनुपर्ने उहाँको सुझाव छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।