काठमाडौं, ११ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले अधिकांश जीवन व्यतित गर्नुभएको मैतिफाँट (मैतिदेवी) स्थित मागडोल कविकुञ्जलाई सङ्ग्रहालय बनाउँदा निर्धारण गरिएको मुआब्जामा गुठी संस्थानले तीन भागमध्ये दुई भाग दाबी गर्ने भएको छ ।
साविक वडा नं ३३ (हाल ३०) को १२ आना १ दाम जग्गासहितको कविकुञ्जलाई मुआब्जा निर्धारण समितिले एक मुष्ट पाँच करोड १२ लाख रुपियाँ मूल्य निर्धारण गरिसकेको छ । काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीका अनुसार वडा कार्यालयबाट प्रतिआना ३८ लाख रुपियाँ पर्छ भन्ने सर्जिमिन गरी घरजग्गा मूल्याङ्कन सिफारिस गरिएको हो ।
समितिको छलफलमा सहभागी गुठी संस्थान काठमाडौँ शाखा प्रमुख बैकुण्ठ रेग्मीका अनुसार, मन्त्रिपरिषद्ले मोहीलाई सन्तुष्ट गरेर मात्र जग्गा अधिग्रहण गर्नु भनेअनुसार मुआब्जा निर्धारण भएको छ । जग्गा धनी पशुपतिनाथ महास्नान गुठी रहेको यो जग्ग्गाको पूर्जाका मोही महलामा स्व. देवकोटाका छोरा पद्मप्रसाद देवकोटा र दीपक देवकोटाका नाम हाल कायम छ ।
साविकमा छोरी मीरा देवकोटाका नाममा मोही जनिए पनि उहाँको निधनपछि भने मोही नामसारी देवकोटाका दुई छोरामा सरेको हो । शाखा प्रमुख रेग्मी भन्नुहुन्छ, ‘‘गुठी संस्थान ऐन २०३३ ले मोहीलाई एक भाग र जग्गा धनीलाई दुई भाग मुआब्जा दिनुपर्छ, यो राजगुठीअन्तर्गत पशुपतिनाथ महास्नान गुठी जग्गाधनी जनिएको घरजग्गा हो । संस्थानले आफ्नो भाग दाबी गरेको छ ।
नेपाल सरकारले देवकोटाको ११०औँ जयन्तीका अवसरमा कविकुञ्जको घरजग्गा अधिग्रहण गरेर सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।