काठमाडौं, १० साउन । नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजबीच लगानी, व्यापार र आर्थिक क्रियाकलाप गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्सका अध्यक्ष गिव्ररगी पेरर्टियाले सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुई देशका उद्यमी व्यवसायीबीचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसर तथा सम्भावना पहिचान गरिने उल्लेख छ ।
नौबुँदे सम्झौतामा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एवं आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रदर्शनीमा सहभागी हुने उल्लेख छ । सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै व्यापार र पर्यटन विकासका लागि जलविद्युत्त, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्न सकिने बताए ।
सन् २०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब रु २३ लाखको व्यापारघाटा बेहोर्नु परेको चेम्बरले जनाएको छ । उक्त वर्ष जम्मा ६ लाख ७० हजार रुपैयाँको नेपाली उत्पादन जर्जिया निर्यात भएको थियो । नेपालबाट हाते कागज, ऊनी गलैंचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना जर्जिया निकासी गर्न सकिने चेम्बरले औंल्याएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।