सरकारको काम, कार्वाहीको समिक्षा गर्न नेपालको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

सरकारको काम, कार्वाहीको समिक्षा गर्न नेपालको माग

madhav kumar nepal

काठमाडौं, ९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समिक्षा गर्नुपर्ने माग गर्नु भएको छ ।

वरिष्ठ नेता नेपालले कमीकमजोरी छन् भने सुधारेर अघि बढ्न पनि सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी गर्नु भयो ।

कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको नेपालमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले हामीले आफ्नो कमीकमजोरीलाई भने स्विकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले पार्टी एकताको बाँकि कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिनु भयो ।

वरिष्ठ नेता नेपालले पार्टी सही बाटो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढनुपर्नेमा पनि जोड दिनु भयो । उहाँले जनतासँगको सम्बन्धलाई ‘माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने पनि बताउनु भयो ।

ताजा समाचार