काठमाडौं, ७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताउनु भएको छ ।
नेता खनालले सरकारले मुलुकको सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन पनि विज्ञापनसम्बन्धि विधेयकमा ‘क्लिन फिड’ को प्रावधान राखेको स्पष्ट पार्नु भयो ।
मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मुलुकको हितलाई केन्द्रमा राखेर सरकारले ल्याएको सो विधेयकलाई राजनीतिक सहमति जुटाएर पारित गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो । नेता खनालले विज्ञापनको बजार मुलुकका तीव्र रुपमा विस्तार भईरहेकाले त्यसको नियमनका लागि पनि सो विधेयक अति आवश्यक रहेको स्मरण गराउनु भयो ।
बैठकमा बोल्दै विज्ञहरु काशिराज दाहाल, लक्ष्मण हुँमागाई र तारानाथ दाहालले समितिमा विचाराधिन रहेको सो विधेयकलाई समृद्ध बनाउने सन्दर्भ सामग्रीको बारेमा समितिलाई जानकारी गराउनु भएको थियो ।
कानुनविद् दाहालले सो विधेयकलाई समृद्ध बनाउन संविधान, देवानी तथा फौजदारी संहिता, उपभोक्ता हित संरक्षण ऐन र सर्वोच्च अदालतका फैसलाहरुलाई मूल आधार बनाउन समिति समक्ष आग्रह गर्नु भएको थियो ।
यता, संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समितिको यस अघिको बैठकमा क्लिन फिड सम्बन्धि प्रावधान राष्ट्रिय हितलाई ध्यानमा राखेर समावेश गरिएको उल्लेख गर्दै नहटाउने अडान लिई सक्नु भएको छ ।