काठमाडौं, ५ साउन । भएभरका फोहोर एउटै डस्टबिनमा फाल्ने संस्कारले फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोरको समस्या कहिल्यै समाधान नहुने मुख्य कारण पनि त्यही हो भन्छन्– फोहोर व्यवस्थापनमा काम गरिरहेका विज्ञहरू । फोहोरलाई स्रोतमै छुट्याउँदा जोखिमयुक्त फोहोरसमेत आम्दानीको दरिलो माध्यम बन्ने अनुपम उदाहरण बनेको छ शिक्षण अस्पताल ।
अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई पनि प्रभावकारी ढङ्गमा व्यवस्थापन गरी विगत दुई वर्षदेखि अस्पतालले प्रतिमहिना ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरिरहेको छ । दुईवटा चुलो निरन्तर बल्ने बायोग्याससमेत उत्पादन गर्दै आएको छ । नेपाल हेल्थ केयरको प्राविधिक सहयोगमा अस्पतालको १९ वार्डमा मात्र सञ्चालित फोहोर व्यवस्थापनको सफल नतिजाको प्रतिफल हो त्यो ।
अस्पतालको मिर्गौला उपचार गरिने नेफ्रो ९मोडेल वार्ड०को काउन्टर अगाडि लहरै कालो, रातो, नीलो, हरियो र गाढा नीलो रङको डस्टबिन लहरै राखिएका छन् । ती डस्टबिनमा नेपाली र अङ्गे्रजी भाषामा खाना, फलफूल, प्लास्टिक, कागज र पानीका बोतल छुट्ट्याएर राख्ने भनेर लेखेरै राखिएका छन् । त्यसको सीधामाथि भित्तामा हरेक डस्टबिनमाथि पढ्न, लेख्न नसक्नेका लागि चित्रसहित स्टिकर टाँसिएका छन् ।
त्यसैगरी रातो सानो डस्टबिनमा टिस्युपेपर मात्र । यी सबै डस्टबिन त्यहाँ उपचारका लागि भर्ना भएका बिरामी र तिनका कुरुवाले प्रयोग गर्छन् । विशेषगरी रातो डस्टबिनमा चाहिँ सङ्क्रमण फैलाउन सक्ने सम्भावना भएको जोखिमयुक्त फोहोर मात्र राख्नुपर्ने व्यवस्था छ । वार्डको भित्र पनि त्यसैगरी डस्टबिन लहरै राखिएका छन् ।
सो वार्डका इन्चार्ज निरी जिरेल भन्नुहुन्छ, “सुरुमा वार्डको काउन्टर अगाडि नै फोहोरका डस्टबिन राख्ने भन्ने कुराले आफूलाई गन्हाएर बसिनसक्नु हुन्छ कि भन्ने चिन्ता लागेको थियो । ” फोहोर व्यवस्थापनको तालिमपछि काम थाल्दा त ज्यादै सजिलो र वार्ड नै चिटिक्क परेको अनुभवले फोहोर व्यवस्थापनको यो विधि ज्यादै प्रभावकारी भएको भनाइ जिरेलको छ । कुल ३४ बेडको त्यस वार्डबाट फोहोर व्यवस्थापन थालेर १९ वार्डसम्म पुगेको छ ।
त्यसैगरी त्यस वार्डमा उपचारका क्रममा प्रयोग भएका सुई काट्ने (निडिल कट्टर) सहितको मेडिकेसन ट्रली । त्यसमा पनि स–साना साइजका हरियो, रातो र नीलो रङका डस्टबिन राखिएका छन् । डाक्टर, नर्सलगायत चिकित्सकको टोलीले पनि डस्टबिनमा फोहोर छुट्याएरै राख्नुपर्ने नियम छ ।
चिकित्सक टोलीले मात्र प्रयोग गर्न पाउने मेडिकेसन ट्रलीमा राखिएका स–साना बाल्टिन र डस्टबिनमा उपचार गर्दा प्रयोग भएका पञ्जा एउटामा, सुई काटेर बाँकी रहेको प्लास्टिकको सिरिन्ज, औषधिका सिसा, बिर्कोसमेत छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइएको छ । शिक्षण अस्पतालमा विगत दुई वर्षदेखि लागू भएको फोहोर स्रोतमै छुट्ट्याउने विधि सुरु भएपछि फोहोरको दुर्गन्ध, सङ्क्रमण हुने, प्रयोग भएका सुईले घोच्ने दर शून्यमा झरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।
उहाँले अस्पतालको फोहोर जलाउन चिम्नीको समेत प्रयोग हुन्थ्यो भने नगरपालिकालाई फोहोर फाल्न दिनुपर्दा अस्पतालको थुपै्र रकम खर्च हुने गरेको बताउनुभयो । फाउन्डेसनको प्राविधिक सहयोग लिएर फोहोर व्यवस्थापन थालेदेखि मासिक रूपमा आम्दानी र कुहिने फोहोरको प्रयोग गरी बायोग्यास निकालेर दुईवटा ग्यास चुलो नियमित बाल्न थालेको छ । यस सफल फोहोर व्यवस्थापनलाई अस्पतालभर लागू गर्नका लागि पूर्वाधार तयार भइरहेको उहाँले बताउनुभयो ।
नेफ्रो वार्डसहित सुरुमा पाँच वार्डबाट परीक्षणका रूपमा फोहोर व्यवस्थापन सुरु गरेको सो अस्पतालमा हाल करिब ५० प्रतिशत फोहोर व्यवस्थापन हुन थालेको छ । कार्यकारी निर्देशक खड्गाले फोहोर व्यवस्थापनको नतिजा प्रभावकारी देखिएकाले सोही अस्पताल परिसरमा एउटा हलकै व्यवस्था गरेर फोहोर व्यवस्थापनसम्बन्धी तालिम, छलफल लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना सुनाउनुभयो ।
पmोहोरलाई स्रोतमै छुट्याउने विधि अपनाएर प्लास्टिक, कागजलाई पुनः प्रयोगका लागि पठाउने, गल्ने फोहोरबाट बायोग्यास उत्पादन र मल बनाउने हो भने अस्पतालजस्तो जोखिमयुक्त फोहोर उत्पादन हुने ठाउँको समेत दुई प्रतिशतमात्र फोहोर नगरपालिकालाई दिनुपर्ने अवस्था आउने रहेछ भन्ने अनुभव दुई वर्षमा गरियो, उहाँले भन्नुभयो । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।




