सय दिनको कार्यकालमा भएका कार्य प्रगति विवरण सार्वजनिक –
काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनका बेला गरिएको प्रतिवद्धता अनुरुप काम हुन नसकेको स्विकार गरेका छन् ।
मेयर शाक्यले ऐन, कानुनको अभावमा अपेक्षा गरे अनुसार कार्य सम्पादन गर्न नसकिएको स्पष्टिकरण दिएका छन् । आफ्नो सय दिनको कार्यकालमा भएका कार्य प्रगति विवरण सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत, साधन र जनशक्तिको कमी हुँदा पनि सोचे अनुसार काम गर्न सक्ने अवस्था नरहेको बताए ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाको दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्ययोजना तय गरिएको, वृद्ध भत्ता वितरण, उज्यालो र सफा काठमाडौंको परिकल्पनालाई साकार बनाउन विभिन्न कार्यक्रम संचालन गर्नु आफ्ना सय दिनको कार्यकालको महत्वपूर्ण उपलब्धि रहेको उल्लेख गरे ।
मेयर शाक्यले निर्वाचनका बेला गरिएको प्रतिवद्धता अनुसार काम गर्दै जाने बताए । उनले महानगरपालिकाको काम कार्वाहीलाई सफल बनाउन सबै सरोकारवाला निकायलाई सहयोग गर्न आग्रह गरेका छन् ।