काठमाडौं, २८ असार । नेपालगन्जबाट ६८ यात्रु बोकेर काठमाडौंतर्फ आएको यती एयरलाइन्सको एटीआर–७२ विमान शुक्रबार अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदान पुग्दा आठ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध बन्यो । कम्तीमा एक सय उडान रद्द भए । हजारौं यात्रु गन्तव्यमा पुग्न सकेनन् ।
विमानस्थल व्यवस्थापनले साँझ ७ बजेसम्म पाँच पटक समय थप्दै नोटाम जारी गरेर विमानस्थल बन्द गरेको थियो । १२ वटा अन्तर्राष्ट्रिय उडान काठमाडौंमा अवतरण हुन नसकेको विमानस्थलको फ्लाइट अपरेसन विभाग प्रमुख सुरेशमान सिंहले जानकारी दिए । तिनलाई भारतको कोलकाता, दिल्ली, ढाका, चीनलगायत गन्तव्य/मुलुकमै डाइभर्ट गरियो । आन्तरिकसमेत गरी काठमाडौंमा मात्रै कम्तीमा एक सय उडान अवरुद्ध भए ।
नेपालगन्जबाट बिहान १०ः०६ मा उडेको यतीको विमान एक घण्टापछि काठमाडौंमा अवतरण गर्ने बेला ११ः०५ मा चिप्लिएको थियो । नेपालगन्जबाट सिमरा हुँदै कोटेश्वरतर्फको प्रवेश विन्दुबाट छिरेको जहाज धावनमार्गको १२ सय ८० मिटर पार गरी त्यहाँबाट १५ मिटर उत्तरपूर्वतर्फ घाँसे मैदानमा पुगेको थियो ।
त्यति बेला काठमाडौं उपत्यकाभित्र सिमसिम पानी परेको र छड्के हावा (क्रस विन्ड) चलेको थियो । हावाको गति प्रतिघण्टा १० नटिकल माइल गतिमा थियो । यस्तो अवस्थामा जहाज उडान अवतरणमा अत्यधिक सावधानी अपनाउनुपर्छ । घटनामा तीन जना यात्रु मात्रै सामान्य घाइते भएको र चालक दलका चार जना सदस्यलाई केही नभएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।