वीरगन्ज, २५ असार । असारको तेश्रो हप्ता चलिहिरदा समेत पर्याप्त मात्रामा पानी नपर्दा प्रदेश २ का अधिकांश खेतमा रोपाईं हुन सकेको छैन । हालसम्म बर्षा नहुँदा प्रदेशको आधाभन्दा बढी क्षेत्रमा १ प्रतिशतसम्म मात्रै रोपाईं भएको छ । सिंचाईको न्यून व्यवस्थाका कारण पर्सा, बारा लगायतका जिल्लाहरुमा सन्तोषजनक रोपाईं हुन नसकेको हो ।
प्रदेश २ को कृषि निर्देशनालयका निर्देशक ओमप्रकाश बिराजीले धनुषामा डेढ प्रतिशत, महोत्तरीमा २ प्रतिशत र सर्लाही, रौतहट, बारा तथा पर्सामा १÷१ प्रतिशत मात्रै रोपाईं भएको जानकारी दिनुभयो ।
पर्सामा आवश्यकताअनुसार पानी गण्डन नहरमा भारतले नछाडेका कारण रोपाइ हुन नसकेको हो । प्रदेश २ को १३६ स्थानीय तहमा ५ लाख ४७ हजार २ सय २६ हेक्टर जग्गा खेतीयोग्य छ । तर पछिल्लो केही बर्षयता खेती गर्ने क्रम घट्दै गएको छ ।
निर्देशक बिराजीका अनुसार अहिले ५ लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ । खेतीयोग्य जग्गा ५ लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल १ लाख १५ हजार ५ सय १५ हेक्टर मात्रै छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।