एजेन्सी, २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका छन् । बेलायती राजदूत किमले ट्रम्प प्रशासन असक्षम भएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले किमसंग आफूले कुनै व्यवहार नगर्ने बताएका हुन ।
आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गरेका थिए । बेलायती राजदूतको भनाइलाई लिएर आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन् । उता बेलायती प्रधानमन्त्री मे ले राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिएकी छिन ।
यसैबीच बेलायती प्रधानमन्त्रीका प्रवक्ताले ईमेल लिक प्रकरणलाई अस्वीकार्य भएको बताएका छन् । उनले यस बारेमा प्रधानमन्त्री कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले लिक भएका ईमेलबारे आफ्नो प्रतिक्रिया यसअघि नै दिइसकेका छन् । उनले आफू बेलायती राजदूत किमको ठूलो प्रसंशक नरहेको र उनले बेलायतको राम्रो सेवा नगरेको बताएका थिए ।तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किमको बचाउ गरेपछि ट्रम्पले बेलायती प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।