काठमाडौं, १६ असार । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले सामान ढुवानीको क्रममा सशस्त्र प्रहरी बलका पूर्वप्रमुख लगायतका अधिकारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारको आरोपलाई ‘स्थापित हुन नसक्ने’ ठहर गरेको छ ।
अध्यक्ष बाबुराम रेग्मी सहित सदस्यहरु द्वारिकामान जोशी र प्रमोद श्रेष्ठको इजलासले सबै आरोपितहरुलाई सफाइ दिएको हो । यो फैसलासँगै सशस्त्र प्रहरीका पूर्व– प्रमुखहरु बासुदेव ओली, सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज बन्त लगायतले सफाई पाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल माघ १८ गते सशस्त्र प्रहरी बलका निलम्बित महानिरिक्षक कोषराज वन्त सहित ११ जना अधिकारी विरुद्ध ६ करोड ७९ लाख रुपैंयाँ विगो मागदावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बलको मुख्यालयबाट विभिन्न युनिटमा सामान ढुवानी गरेको विवरण देखाई फर्जी विल तयार गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । मातहतका कार्यालयमा सामान ढुवानी गर्दा नक्कली विल बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।