महानगरको महासंग्राम: कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २२ भदौ । प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका छन्।

बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् । दललाई वीरगन्जका लागि उम्मेदवार छान्न सकस परेको थियो ।

सबै दलको चासो वीरगन्जका लागि प्रकट हुनुका पछाडि के कारण छ ? वीरगन्जका एक पुराना राजनीतिकर्मी हरेन्द्र सिंह भन्छन्, ‘यो सत्ता र शक्तिसँग गाँसिएको विषय हो ।’ लामो समय वीरगन्जमा बसेर कांग्रेसको राजनीतिमा सक्रिय सिंह केही समययता मधेसी पार्टीमा आबद्ध भए पनि स्वतन्त्रपूर्वक विश्लेषण गर्न रुचाउँछन् । उनी भन्छन्, ‘यो आज मात्रै देखिएको होइन, ०४६ पछिका हरेक निर्वाचनमा दलहरूको केन्द्रीय नेतृत्वले वीरगन्जलाई चासोपूर्वक लिँदै आएको छ।’

वीरगन्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार वीरगन्जको नेता भएपछि केन्द्रमा स्थापित हुन सजिलो हुने भएकाले यहाँको नेतृत्व गर्न होड चल्ने गरेको हो । यादव भन्छन्, ‘राजनीतिमा पैसाको महत्वव अत्यधिक हाबी भयो, आर्थिक नगरीसमेत रहेको वीरगन्जको नेतृत्वले त्यो सजिलै म्यानेज गर्न सक्छन् भन्ने स्थापित मात्रै होइन, व्यहवारमै देखियो, जसकारण सबैको चासो बढेको हो ।’

‘वीरगन्जको महत्वव यतिमा सीमित छैन’, अधिवक्ता यादव भन्छन्, ‘यो सहर दुई वर्षअगाडि मात्रै ६ महिना प्रभावित हुँदा हरेक नेपालीको चुलोमा प्रभाव पर्‍यो ।’ ‘यहाँ भारतको महावाणिज्य दूतावासदेखि भारतका अनेकन व्यापारिक संरचना छन्’, राजनीतिज्ञ सिंह भन्छन्, ‘जसकारण यहाँका नेतालाई भारतसँग सम्बन्ध बनाउनसमेत सजिलो हुने गरेको देखियो ।’ सिंह भन्छन्, ‘नेपालको राजनीतिमा भारतको प्रभाव अब बहसको विषय नै छैन, भारतसँगको सम्बन्ध हाम्रो राजनीतिमा महत्ववपूर्ण देखिन्छ । त्यसैले यहाँको राजनीतिक नेतृत्व गर्न सक्नेले भारतसँग समेत सम्बन्ध विस्तार गर्न मौका पाउँछन्, आर्थिक रूपमा पनि सहज उक्लिन्छन् ।’

‘वीरगन्जको छेउमै कलैया र सिमरा उपमहानगरपालिका छन्’, यादव प्रश्न गर्दै भन्छन्, ‘खोइ त्यहाँ उम्मेदवार चयन गर्दा कुनै विवाद भएको देखिएन । तर वीरगन्जको सन्दर्भमा हेर्नुस्, के भयो ।’ वीरगन्ज महानगरपालिकाको उम्मेदवार बन्न नपाएपछि मंगलबार मात्रै राजपा परित्याग गर्दै विमल श्रीवास्तव फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका छन् ।

बुधबार निर्वाचन कार्यालयमा उम्मेदवारी मनोयन गराउनेहरू दर्जन हाराहारीमा भए पनि वीरगन्जमा अजय द्विवेदी, विमल श्रीवास्तव, विजय सरागवी र राजेशमान सिंहबीचमै प्रतिस्पर्धी हुने जानकारहरूको दाबी छ । द्विवेदी कांग्रेसका वीरगन्ज मेयर उम्मेदवार हुन् । श्रीवास्तव राजपा परित्याग गर्दै फोरम लोकतान्त्रिकबाट, सरागवी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको तर्फबाट र सिंह राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् ।

एमालेले विवादमा मुछिएको नेसनल मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सरीलाई मेयरमा अघि सारेको छ भने माओवादी केन्द्रले ३१ वर्षीय युवा रहबर अन्सारीलाई मेयरमा अघि सारेको छ । कांग्रेस पर्सा जिल्ला सभापति द्विवेदी पहिलो संविधानसभामा पर्साबाट निर्वाचित भएका थिए भने श्रीवास्तव वीरगन्जको पूर्वमेयर हुन् । श्रीवास्तव मेयर हुँदा वीरगन्जको विकास अत्यधिक भएकाले उनी वीरगन्जमा चर्चित छन् । तमलोपामा पुगेका उनी पार्टी महाधिवेशनलगत्तै पार्टी प्रवक्ता भएका थिए । राजपामा उनी महन्थ ठाकुरनिकट नेता मानिन्थे।

वीरगन्जका नाम चलेका व्यापारी सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् । राजपाका सिंह युवा भए पनि पछिल्लो मधेस आन्दोलनमा उनको भूमिका उल्लेखनीय रहेको स्थानीय नेता बताउँछन् । केही समयअघि मात्रै एमाले प्रवेश गरेका बसरुद्दिन विवादित छविका भए पनि मुस्लिम भोट तान्न सक्ने आकलन एमालेसहित स्थानीयको छ । माओवादी केन्द्रले भर्खरै विदेशबाट उच्च शिक्षा हासिल गरेर फर्केका युवा रहवरलाई छानेर वीरगन्जको युवा जमातमा आफ्नो आकर्षण बढाउन खोजेको देखिन्छ । रहबरले युवा जमातलाई बढी केन्द्रित गरी प्रचारप्रसार गरिरहेका छन् ।

वीरगन्जका अर्का नागरिक अगुवा पन्नालाल गुप्ता भन्छन्, ‘निर्वाचनको मुख्य आकलन अन्तिम दुई दिनमा मात्रै गर्न सकिने भए पनि प्रमुख दलहरू नै फेरि वीरगन्जमा बाजी मार्ने सम्भावना बलियो देखिँदै गएको छ ।’ गुप्ताका अनुसार राजपाबाट श्रीवास्तव उम्मेदवारका रूपमा अघि आएका भए, कांग्रेसका द्विवेदी र श्रीवास्तवबीच कडा प्रतिस्पर्धा हुन्थ्यो । ‘तर श्रीवास्तवले राजपा परित्याग गर्ने अवस्था आएपछि मत तीन ठाउँमा बाँडिन्छ’, गुप्ता भन्छन्, ‘यस्तोमा संगठित मतको रहन्छ ।’

संगठनका हिसाबले पर्सामा कांग्रेस अन्य पार्टीभन्दा बलियो मानिन्छ । कांग्रेसपछि पर्सामा एमाले बलियो मानिए पनि मधेसमा यो पार्टीविरुद्ध बढेको मनोविज्ञानका कारण उसलाई अवस्था सहज छैन भन्छन्, स्थानीय अगुवा । मधेस आन्दोलनप्रति सहानुभूति राख्ने नागरिक अगुवा गुप्ता वीरगन्ज मधेस आन्दोलनको उद्गमस्थल भए पनि यहाँ राम्रो गर्न नसकेको दाबी गर्छन् ।

‘हुन त वीरगन्जले ००७ सालदेखिकै आन्दोलनको अगुवाइ गरेको छ’, गुप्ता भन्छन, ‘पहिल्लो एक दशकमा भएका तीनवटै मधेस आन्दोलनको केन्द्रसमेत वीरगन्ज रह्यो तर मधेसी पार्टीको सांगठनिक संरचना बलियो हुन सकेन ।’ ‘पहिलो मधेस आन्दोलनमा देखिएका सबै मधेसी अनुहारलाई ओझेलमा पार्ने काम भयो’, उनी भन्छन्, ‘अर्कोतर्फ मधेसी पार्टी संगठन बनाउन लागिपरेको देखिएन, मनोविज्ञानलाई मतमा परिणत गर्न सधैं सकिँदैन ।’

‘दुई वर्षअघिको मधेस आन्दोलनताका एमाले र अध्यक्ष केपी ओली आन्दोलनकारीको मुख्य निशानामै थिए । तर, अहिले त्यस्तो छैन । अधिवक्ता यादव भन्छन्, ‘एमालेले आफ्नो अवस्थामा ६० प्रतिशतले सुधार गरिसकेको आभास हुन्छ । यद्यपि, उसलाई वीरगन्जको नेतृत्वमा हत्याउन सहज भने देखिँदैन ।’ पर्सामा दुई लाख ८० हजार दुई सय १२ मतदाता छन् । तीमध्ये एक लाख आठ हजार पाँच सय एक मतदाता वीरगन्ज महानगरपालिकाभित्रै रहेको जिल्ला निर्वाचन कार्यालय पर्साको तथ्यांक छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);