श्याम गुप्ता
बारा, १४ असार । सर्वाधिक बली चढ्ने मन्दिरको रुपमा परिचित बाराको गढीमाई मन्दिर पुर्वाधार विकासको अभावमा अव्यवस्थित बनेको छ । बाटोको सुविधा तथा दर्शनार्थीहरुका लागि बसोबास, खानेपानी, शौचालयजस्ता अत्यावश्यक सुविधाहरुको अभावमा धार्मिक पर्यटनको प्रचुर सम्भावना हँुदाहँुदै पनि गढीमाई मन्दिर छायाँमा परेको छ ।
नेपाल लगायत भारतका दर्शनार्थीहरुको घँुईचो लाग्ने गढीमाई मन्दिर त्यहाँ दिइने बलीका कारण बेलाबेलामा चर्चा र विवादमा आईरहन्छ । सर्वाधिक बली दिइने मन्दिरका रुपमा प्रचलित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने एक महिने मेलामा सयौँ पशुहरुको बली दिने गरिन्छ । तर दैनिक हजारौँ दर्शनार्थीहरुको भीड लाग्ने मन्दिरमा दर्शनार्थीहरुका लागि बसोबास, खोनेपानी, शौचालय, धार्मिक कार्य स्थल र सञ्चार लगायतका अत्यावश्यक सुविधाहरुको पनि व्यवस्था हुन नसक्दा मन्दिर अव्यवस्थित भएको छ । मन्दिरसम्म पुग्न पक्की सडक नबन्दा दशनार्थीहरुले सास्ती व्यहोर्दै आएका छन् । मन्दिरमा पुर्वाधार विकासका लागि सरकारले कुनै पहल नगरेको दर्शनार्थीहरुको गुनासो छ ।
हरेक पाँच वर्षमा एक पटक एक महिने मेला लाग्ने र सोही समयमा बली चढ्ने भएकाले भक्तजनहरु अन्य बेला देवीको दर्शन गरी भाकल गरी मनोकांक्षा पुरा भएपछि मेलाको समयमा बली दिने प्रचलन रहेको छ । पशु बलीको रगतमा झिँगा नलाग्नु, बली सुरु हुनु पुर्व दियोमा बत्ती आफैं बल्नु, पंञ्च बलीका लागि चाहिने सेतो मुसा आफै बलीको लागि उपस्थित हुनु जस्ता किम्वदन्तीले गढीमाईलाई साक्षात शक्तिकी देवीको रुपमा मानिने गरिन्छ । गढीमाईलाई प्रसन्न गरे मनोकांक्षा पुरा हुने विश्वासले धेरै दर्शनार्थीहरु दर्शनका लागि आउने मन्दिरका मुल पुजारी मगंल चौधरीको भनाई छ ।
गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीलाल कुशुवाहले आफु १५ बर्षदेखि समितिमा रहेर प्रत्येक वर्ष सरकारी निकायलाई पुर्वाधार निर्माणको निम्ती आफ्नो समिति र स्थानीय राजनैतिक दलका नेताहरु लिएर जाँदा समेत हालसम्म कुनै पहल नभएको गुनासो गर्छन् ।
पाँच वर्ष अघि बलि व्यवस्थित गर्न रंगशाला निर्माण गरीएको छ, भने हालै मात्र स्थानीय तहबाट शौचालय र मन्दिर परिसर भित्र टायल बिच्छाउने काम भएको छ । प्रदेश सरकारले आफ्नो लगानीमा धर्मशाला र विवाह मण्डप बनाउने योजना गरेको छ । मन्दिरको उचित प्रवद्र्धन तथा व्यवस्था हुन सके यसबाट धार्मिक पर्यटन विकास गर्न सकिने विज्ञहरुको भनाई छ ।




