काठमाडौं, १४ असार । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा मुलुकमा ज्येष्ठ नागरिकलाई स्वैच्छिक मृत्युवरणको अधिकार दिनुपर्ने माग गरिएको छ । समितिको शुक्रबारको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफलमा वयोवृद्ध सरोकारवालाले उक्त माग गरेका हुन् ।
वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई स्वैच्छिक मृत्युवरण गर्न पाउने कानुनी व्यवस्थाका लागि संघीय संसद्समक्ष माग गरे । ९२ वर्षीय रिसालले धेरै विद्वान् र धनी छोराछोरीका बाबुआमाले समेत बुढेसकालमा कठिनका साथ जिउनुपरेको उल्लेख गर्दै विकसित मुलुकहरूमा जस्तै त्यस्ता ज्येष्ठ नागरिकले चाहेमा स्वैच्छिक मृत्युवरण गर्न पाउने कानुनी अधिकार दिन आग्रह गरेका हुन् ।
सुन्दा नमीठो लागे पनि ज्येष्ठ नागरिकले यस्तो इच्छा व्यक्त गर्ने गरेको पाइएको उनले उल्लेख गरे । रिसालले विश्वका कतिपय मुलुकमा निको नहुने तर बढी पीडा हुने रोग लागेका ज्येष्ठ नागरिकले चाहेमा स्वैच्छिक मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था रहेको तर्फर् समेत समितिको ध्यानाकर्षण गराए ।
उनले ज्येष्ठ सासूससुरालाई राम्रोसँग स्याहार गर्ने बुहारीमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने कानुनी व्यवस्था गर्नसमेत समितिलाई सुझाव दिए । यस्तो कानुनी व्यवस्थाले ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि सामाजिक रूपमै जागरण ल्याउने विश्वाससमेत उनको थियो ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।