बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा

baluwatar

काठमाडौं, १२ असार । बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत बयान लिने तयारी गरेको छ ।   मालपोत, नापी, गुठी संस्थानका कर्मचारीलगायत ५० जनाभन्दा धेरैसँग आयोगले सोधपुछ गरिसकेको छ । सूवर्णशमशेर राणाका परिवारका केही सदस्यमाथिसमेत सिआइबीले सोधपुछ गरेको स्रोत बताउँछ ।

बयानका लागि बोलाइएका अन्य जग्गाधनी उपस्थित नभएपछि आयोगले बुधबार पत्रिकामार्फत सात दिनभित्र उपस्थित हुन ८६ जनाको नाममा सूचना जारी गरेको छ । सूचना जारी भएकाहरूमा बिचौलिया शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल, छोरी लक्ष्मी ढकाल, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, रामप्रसाद सुवेदीकी श्रीमती माधवी सुवेदीलगायत छन् ।

राणा परिवार तथा गुठियारको नामबाट जग्गा उनीहरूको नाममा नामसारी गरिएको थियो । उमाकुमारीको नामबाट नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा आठ आना जग्गा नामसारी भएको थियो । त्यसरी जग्गा किन्नेहरूलाई भने आयोगले बोलाएको छैन । सात दिनभित्र उनीहरू उपस्थित नभए सबैलाई प्रतिवादी बनाएर मुद्दा चलाउने आयोगको तयारी छ । ‘छानबिन अन्तिम चरणमा पुगेको छ,’ आयोगका एक उच्च अधिकारीले भने,‘अब थप केही बुझ्न र बयान मात्र बाँकी छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);