काठमाडौं, १० असार । आगामी आवदेखि दिनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको जानकारी नेपाल राष्ट्र बैंककोवित्तीय एकाइमा दिनुपर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ जारी गर्दै एक दिनमा पटक–पटक वा एकैपटकमा १० लाखभन्दा बढीको कारोबारको जानकारी वित्तीय एकाइमा दिनुपर्ने व्यवस्था गरेको हो । बोर्डले दिएको निर्देशन कार्यान्वयन नगर्ने सूचक संस्था (बोर्डबाट लाइसेन्स प्राप्त गरेर सञ्चालन भएका संस्था)लाई ५ करोडसम्मको जरिवाना व्यवस्था गरेको छ ।
नेपाल धितोपत्रसम्बन्धी ऐन २०६३ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार बोर्डले आगामी साउनदेखि लागू हुने गरी निर्देशन जारी गरेको हो । बोर्डले जारी गरेको निर्देशन प्रभावकारी कार्यान्वयन नगर्ने सूचक संस्था, कर्मचारी तथा पदाधिकारीलाई सबै प्रकारको व्यवसाय गर्न रोक लगाउनेदेखि ५ करोड रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।