किशोर तामाङ
कञ्चनपुर, ९ असार । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ८ मा पर्ने नेपालको हुलाकी सडक निर्माण कार्य रोक्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दबाब दिएको छ । बेलौरी कलकत्ता हुलाकी सडक खण्डमा भारतीय पक्षले बेलौरी – कलकत्ता सडकखण्ड अन्तर्गत खप्टी पुलदेखि पचुइको ईटाभट्टासम्मको सडक निर्माणमा भारतीय पक्षले अवरोध सिर्जना गरेको हो ।
भारतीय एसएसबिले कञ्चनपुरको १२ सय मिटर सडकखण्ड भारतमा परेको भन्दै दाबी गरिरहेको छ । सदियौँदेखि नेपालको आवत – जावत गर्ने उक्त सडक अहिले भारतीय पक्षले जिपिएसको माध्यमद्धारा आफ्नो क्षेत्रमा परेको भन्दै हुलाकी सडक निर्माण कम्पनीलाई काम रोक्न दवाब दिएको हो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीको दवावले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ८ मा पर्ने नेपालको हुलाकी सडक निर्माण कार्य अहिले प्रभावित छ । अवरोधपछि स्थानीय जनता आक्रोशित बनेका छन् । भारतीय पक्षको हेपाहा प्रविधिले सडक निर्माण कार्यमा भईरहेको अवरोधलाई नेपाल सरकारले समाधान गर्नु पर्ने स्थनीयको भनाई छ ।
भारतले सीमा क्षेत्रमा गरेको ज्यादतीको समाचारहरु त बेलाबेलामा आइरहने गर्दछ । भारतले हुलाकी सडक निर्माण कार्य नोमेन्स ल्याण्डमा परेको भनी अवरोध गर्ने तर भारतले भने आफ्नो तिर नोमेन्स ल्याण्ड मै सडक निर्माण गरेको बेलौरी नगरपालिका वडा –८ का अध्यक्ष नन्दकुमार रानाले बताउनु भयो ।
भारतीय एसएसबीले ठेकेदार कम्पनीलाई निर्माणमा रोक लगाएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेलौरी त्यहाँ पुगेर एसएसबीलाई पछि हटाएको छ । बिना प्रमाण यस्ता विवादित कुरा नगर्न भारतीय एसएसबीलाई सुझाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेलौरी पोष्टले जनाएको छ । विषयलाई विवादित हुन नदिन शसस्त्र प्रहरी बलले पनि सीमावर्ती क्षेत्रमा बाक्लो गस्ती परिचालन गरेको छ ।