काठमाडौं, ६ असार । साखः स्टील ग्रूप र समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालिले कृषि पर्यटनलाई प्राथमिकता दिएर लगानी बढाएका छन् । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि दुवै कम्पनीले आफ्नो लगानी विस्तार गरेका हुन् ।
समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालिले काभ्रेको खावामा कृषि पर्यटन प्रवर्द्धनका लागि रू. ५ करोड लगानी गर्दै छ । होटल व्यवसायलाई विस्तार गर्दा कृषि पर्यटनलाई नै प्राथमिकता दिने गरेको समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालिका प्रबन्ध निर्देशक विनायक शाहले बताए । उनका अनुसार जग्गा खरीद र ३० कोठाको अतिथिगृहका लागि उक्त लगानी भएको छ । धान, फलफूल र तरकारी खेती तथा कुखुरा र बाख्रापालनका साथै स्थानीय तहकै कृषिजन्य उत्पादन उपभोगको वातावरण बनाउने कम्पनीको योजना छ ।
यस्तै, स्टीललगायत उद्योगमा संलग्न साखः ग्रूपले पनि कपिलवस्तुको गोरुसिंगेमा यस्तै परियोजना अगाडि बढाएको छ । २८ बिगाहामा रू. २० करोड लगानीमा ‘नेचुरल एग्रिकल्चर फार्म’ सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । उक्त जग्गामा अर्गानिक कृषि उत्पादन र कृषि पर्यटन अगाडि बढाउने योजना रहेको ग्रूपका उपाध्यक्ष किरणभक्त साखःको भनाइ छ । कृषि पर्यटनलाई लक्षित गरेर कम्पनीले शुरूमा ३० कोठाको होटल तथा माछा, गाई, बँदेल, बाख्रा र स्थानीय जातका कुखुरापालन गर्नेछ ।
प्रबन्ध निर्देशक शाहका अनुसार कृषि पर्यटन स्पेन र इटलीमा प्रचलित अवधारणा हो । कृषि फार्मिङका साथै सोही स्थानमा गेस्ट हाउस तथा होटल स्थापना गर्दै ग्रामीण क्षेत्रमा पर्यटक आकर्षित गर्ने हेतुले अहिले नेपाली व्यवसायीहरू पनि त्यस क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।