काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदको कार्यसूचि विपरित गएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि रोष्टममा उभिनु भएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेम्वाङले काँग्रेसको सो गतिविधि संसदको कार्यसूचि विपरित रहेको प्रतिक्रिया दिनु भएको हो ।
उहाँले संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै संसदीय परिपाटीमा संसदको नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने उल्लेख गर्दै बोल्नका लागि रोष्टममा पुग्नु भएका प्रधानमन्त्रीलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।
पूर्व सभामुख समेत रहनु भएका नेम्वाङले प्रधानमन्त्रीलाई बोल्न नदिइएको सो विषयमा निधार खुम्च्याएर सोच्न पनि आग्रह गर्नु भयो । ‘हाम्रो संसदीय प्रणाली अनुसार प्रधानमन्त्रीले बोल्नका लागि समय माग गर्नु भएको हो, सभामुखले उहाँलाई बोल्नका लागि समय दिनु भएको हो, समय दिइए अनुसार रोष्टममा बोल्न जाँदा उहाँले बोल्न पाउनु भएन,’ उपनेता नेम्वाङको भनाई थियो, यसलाई लिएर म अरु टिप्पणी गर्न चाहन्न, यसबारे सबैले निधार खुम्च्याएर सोचौं ।’
उपनेता नेम्वाङले संसदीय परिपाटीमा संसदमा बोल्न समय माग गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध हुने र त्यसपछाडि मात्रै प्रतिपक्ष दलका नेताले बोल्न पाउने पनि बताउनु भयो ।