काठमाडौं, ३० जेठ । काभ्रेको चलाल गणेशथानकी मिना कोइराला पति सुरज र दुई छोरा छोरी सहित काठमाडौं आएको साढे ३ दशक नाघिसक्यो । २०४१ पछि त्रिपुरेश्वरको वागमति किनार बंशीघाटमा बसोबास गर्न थालेका कोइराला दम्पत्तिले छोरा, छोरीको घरजम काठमाडौंबाटै गरे । बंशीघाटमै हुर्किएका नाती नातिनाको समेत जोडी बाध्ने बेला भइसक्यो, तीन पुस्ता विभिन्न पेशा व्यवसायमा आवद्ध छन् । ‘हामी यहाँ आउनुभन्दा अघि ६ घर परिवार थिए, हामी थपिएपछि ७ घर भयौ, बोरा र टिनका टुक्रा टालटुल गरेर छाप्रो बनायौ, त्यसपछि यहाँको बसोबास शुरु भयो’–कोइरालाले विगत स्मरण गर्दै भनिन् । बंशीघाटमा अहिले १ सय ९० परिवार छन् ।
रामेछापको डिमी पोखरीका हुकुमबहादुर लामा २०२७मा घरबाट भागेर काठमाडौं आउँदा १२ बर्षका थिए, उनको मन काठमाडौंको चहल–पहलले जित्यो । लामा २०३०पछि शंखमुल किनारामा बसोबास गर्न थाले, यतै घरजम भयो । छोरा–छोरी यतै हुर्किए, पढे बढे । तत्कालिन वडाध्यक्ष विदुर विक्रम शाहले बसोबासको अनुमति दिएपछि सो भेगमा लामा लगायतका परिवार बस्ने वातावरण मिलेको थियो । सो बेला ५÷६ वटा मात्रै टहरा रहेको बताउँदै लामाले भने–‘त्यो बेला यहाँ धेरै खुल्ला थियो, काठमाडौं र पाटनका मान्छेको खेतबारी थियो, अहिले त हामी १ सय ८ घर धुरी पो छौ त ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।