भत्ता बढेपछि ज्येष्ठ नागरिकले रोके आठ वर्षदेखिको आन्दोलन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भत्ता बढेपछि ज्येष्ठ नागरिकले रोके आठ वर्षदेखिको आन्दोलन

jestha-nagarik

काठमाडौं, २६ जेठ । सरकारले मासिक भत्तामा वृद्धि गरेपछि ज्येष्ठ नागरिकले आठ वर्षदेखिको धर्ना अन्त्य गरेका छन् । अग्रज समाज नेपालको आह्वानमा नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि धर्नामा रहेका ज्येष्ठ नागरिकले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाका लागि विगतको तुलनामा सन्तोषजनक व्यवस्था गरेकाले सहर्ष धर्ना रोकेका हुन् ।

समाजका अध्यक्ष महाप्रसाद पराजुली भन्नुभयो, “देशका बा–आमालाई सुविधा बढाउन आवाज उठाउँदा विगतका सरकारले आश्वासन पूरा गरेनन् । कतिपय सरकारले प्रहरी लगाएर आमाहरुलाई चुल्ठोमा समातेर लात्ताले समेत हाने । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भत्तावृद्धिको माग सम्बोधन गरेको छ, हामी खुशी छौँ ।”

“लोककल्याणकारी राज्यव्यवस्था निर्माण गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सबै नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्मको जीवनचक्रलाई सामाजिक सुरक्षामा सुनिश्चितता गर्ने सङ्कल्पसहित सरकारले बजेटमा ज्येष्ठको मासिक भत्तामा रु एक हजार वृद्धि गरी रु तीन हजार बनाएको थियो ।” “ज्येष्ठ नागरिकलाई राज्यले सम्मान र संरक्षण गर्नुपर्छ भन्ने हाम्रो दृढ अठोटअनुरुप ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई साविकमा प्रदान गरिएको मासिक भत्ता रु दुई हजारबाट बढाइ रु तीन हजार पु¥याएको छु । यसबाट करीब १३ लाख ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ हुने अनुमान गरेको छु ।” अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्दै भन्नुभएको थियो ।

“शहरमा बस्दा जति भए पनि पुग्दैन, गाउँ पाखामा बस्ने बा–आमालाई यति भए पनि पुग्छ । बाँच्ने आधार वामपन्थी सरकारले दिएको छ । कतिपय छोराछोरीले बा–आमालाई चिनाउँदा नोकरसमेत भन्ने, सासुलाई बुहारीले भुत्ल्याउने स्थिति अन्त्य भएको छैन । यस्तो भएमा छोराछोरीबाट बा–आमालाई सम्पति फिर्ता गर्नुपर्ने प्रबन्ध हुनुपर्छ”, पराजुलीले भन्नुभयो ।

भोजपुरमा जन्मेका ७१ वर्षीय पराजुलीले समाजको अध्यक्ष भएकाले अरुका लागि आन्दोलन गरेको सन्देश दिन सरकारको भत्ता नलिने जनाउँदै अन्य मुद्दाका विषयमा यही जेठ ३० गते भेला गरेर निर्णय गर्ने बताउनुभयो । समाजले यही जेठ १६ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलाई बानेश्वर बोलाएर धर्ना अन्त्यको जानकारी दिएको थियो । आन्दोलनकै अवधिमा घाइतेसहित गरी हालसम्म ३४ ज्येष्ठ नागरिकको निधन भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);