हुरीले उजाडियो मुक्त कमैया बस्ती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

हुरीले उजाडियो मुक्त कमैया बस्ती

hurile ujadiyo basti

धनगढी, २५ जेठ ।  बिहीबार साँझ साढे सात बजेको थियो । धनगढी बजारमा रिक्सा चलाएर गुजारा गर्दै आएका पर्शुराम चौधरी पुरानो एयरपोर्टको मुक्त कमैया बस्तीमा रहेको घर जाँदै थिए । कमाइ अलि बढी भएकाले उनी अरू दिनभन्दा खुसी देखिन्थे ।

बालबच्चालाई मासु नखुवाएको धेरै दिन भएको थियो । एक किलो मासु लिन नैनादेवी चोकबाट मासु पसलतिर मोडिन खोज्दै थिए, एक्कासि हुरीबतासको भुमरीले छोप्यो ।

रिक्सासहित उनी त्यहीँ ढले । सामान्य चोट लाग्यो । बल लगाएर उठे र मुस्किलले नजिकको नैनादेवी मन्दिरभित्र पसे । ‘ज्यान जोगियो,’ उनले भने, ‘तर कच्ची झुपडीभित्रका लालाबालाको चिन्ताले त्यो एक घडी महिनौँजस्तो भयो ।’ करिब एक घण्टामा हुरी र पानी मत्थर भएपछि रिक्सालाई त्यहीँ छाडेर पैदलै घरतिर दौडिए ।

‘बस्तीमा कोलाहल थियो,’ उनले भने, ‘घर घरजस्तो थिएन, हुरीले छाना उडाइसकेको थियो । भित्र पानी जमेको थियो ।’ उनले परिवारका सदस्यलाई बोलाए, कोही बोलेनन् । आत्तिएर मोबाइलको टर्च बालेर भित्र पसे । उनका अनुसार श्रीमती कमलापती र केटाकेटी खाटमुनि लुकेर बाँचेका थिए ।

‘छोराहरू बाबा–बाबा भन्दै निस्किए,’ उनले भने, ‘श्रीमती बेहोस भइसकेकी रहिछन्, केही बेरपछि मात्रै होस फर्कियो ।’ दिनभर बजारमा रिक्सा र अन्य मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने यो बस्तीका धेरै मुक्त कमैया हुरीबतास चलेका बेला घरबाहिरै थिए । घरमा केटाकेटी र वृद्धवृद्धा मात्रै थिए । सबैलाई ज्यान जोगाउनै मुस्किल भएको सीताराम चौधरीले बताए ।

सीताराम आफू पनि हुरी चल्ने बेला बाटैमा थिए । ‘घर पुग्दा परिवारमा रुवाबासी थियो,’ उनले भने, ‘रातभरि कोही सुत्न पाएनौँ ।’ उनले कसैको घरको अन्नपात र लत्ताकपडा नबचेको बताए । ‘सर्वस्व गुम्यो,’ उनले भने ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);