काठमाडौं, २४ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गर्नु भएको छ ।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताउनुभयो । उहाँले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्ने गरी केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको पनि बताउनु भयो ।
आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ ।
नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको उल्लेख गर्नुभयो ।