९ महिनाभित्र आमनिर्वाचन गर्ने सुडानी सेनाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

९ महिनाभित्र आमनिर्वाचन गर्ने सुडानी सेनाको घोषणा

बिपक्षी दलसंगको सहमती रद्ध

एजेन्सी, २१ जेठ । सुडानमा सेनाले विपक्षी गठबन्धनसँग गरेको सबै सम्झौता रद्द गर्दै ९ महिना भित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ । सोमवार सैनिक मुख्यालय बाहिर नागरिक शासनको माग गर्दै धर्नामा बसिरहेका प्रदर्शनकारीहरुमाथि बल प्रयोग गरेपछि सेनाको आलोचना भएको थियो।

सेना र प्रदर्शनकारीबीच मुठभेड हुँदा ३० जना प्रदर्शनकारीको मृत्यु भएको थियो। गत अप्रिलमा राष्ट्रपति ओमर अल बसिरलाई सेनाले पदच्यूत गरेको थियो। त्यसपछि सेनाले आगामी तीन वर्षसम्म सैन्य परिषद्को नेतृत्वमा सरकार चल्ने घोषणा गरेपछि प्रदर्शन चर्किएको थियो।

हाल प्रदर्शनमा रहेका प्रदर्शनकारीहरुले सेनासँग बसिरलाई हटाउन सहयोग मागेका थिए। तर बसिरलाई हटाएर ’कू’ गरेको सेनाले सत्ता आफ्नो नियन्त्रणमा राखेपछि दुई महिनादेखि सैनिक मुख्यालय बाहिर हजारौं नागरिकले धर्ना दिइरहेका थिए।

धर्नामा बसेकाहरुले सेनाले परिषद खारेज गर्दै नागरिकलाई सत्ता हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएका छन्। सोमबार भएको हिंसापछि सेना र प्रदर्शनकारीबीच सहमती भएपछि निर्वाचनको घोषणा गरिएको बताइएको छ। सहमतिबारे जानकारी दिँदै सैन्य परिषद्का प्रमुख जनरल अबदेल फट्टाह अल बुरहनले ९ महिनामा क्षेत्रिय र अन्तराष्ट्रिय निगरानीमा निर्वाचन गराउने घोषणा गरेका हुन्।