मापदण्डविपरीतको होटेल उद्घाटन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मापदण्डविपरीतको होटेल उद्घाटन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार

hotel-pokhara

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् ।

साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थल उत्रिएका थिए । त्यसपछि उनी सीधै लेकसाइडस्थित होटेल स्विस इन्टरनेसनल पुगेका थिए । तर, मापदण्डविपरीत बनेको होटेल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन् ।

प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए । प्रधानमन्त्रीसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखसमेत होटेल पुगेका थिए । प्रधानमन्त्री ओली होटेलको सातौँ तलामा गएर बसे । त्यहाँ होटेल उद्घाटन गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीसहित अन्यसँग छलफल गरेपछि उद्घाटन नगर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।

सो होटेल प्रधानमन्त्रीले उद्घाटन गर्ने थाहा पाएपछि पोखरा महानगरले नै असन्तुष्टि जाहेर गरेको थियो । त्यसैले मेयर मानबहादुर जिसीले कार्यक्रममा सहभागी नहुने निर्णय गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने प्रधानमन्त्रीले होटेल उद्घाटन गर्ने कार्यक्रम नै नभएको बताएका छन् । ‘उद्घाटनमा जाने कार्यक्रम भए त म हिजै मिडियामा समचार पठाउँथेँ नि,’ उनले भने, ‘त्यहाँ खाना खान मात्र गएको हो ।’ तर, होटलको भित्तामा राखिएको ताम्रापत्रमा ‘प्रधानमन्त्री केपी ओलीको बाहुलीबाट’ उद्घाटन हुने भनेर लेखिएको छ । तर, प्रधानमन्त्रीले सो ताम्रपत्र अनावरण नगरी हिँडेपछि होटेल व्यवस्थापनले कपडा आफैँ हटाएको छ । प्रधानमन्त्रीले उद्घाटन नगरे पनि अहिले होटेलको ढोकामा रहेको ताम्रपत्रमा प्रधानमन्त्रीले व्यवसाय शुभारम्भ गरेको विवरण छ । यसअघि गत माघमा उपराष्ट्रपति नन्दबहादुर पुनले मापदण्डविपरीत बनेको एक होटेल उद्घाटन गर्दा उनको चर्को आलोचना भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);