काठमाडौं, १२ जेठ । महानगरिय प्रहरी परिसर काठमाण्डौले आफुलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरि प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो ।
३० बर्षिय खनाल भगौडा प्रहरी भएको महानगरिय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उनीहरुले काठमाडौं वनस्थलीका एक ब्यक्तिसंग आफुहरु प्रहरी भएको भन्दै १ लाख रुपैया ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले ठगी गरि बैकमा राखेको १ लाख रुपैया पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीले कर्तव्यज्यान गरि फरार रहेका सल्यानका सुरेन्द्र भण्डारी, समिर भण्डारी र सुरेश घर्तीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।