सुर्खेत, ८ जेठ । गुर्भाकोट नगरपालिकाका लीलाधर चपाईं सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी छोरीलाई भने बोर्डिङ स्कुलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। ‘पछिल्लो समय निजीभन्दा सरकारी स्कुल अब्बल बन्दै गएका छन्’, चपाईंले भने, ‘त्यही भएर यो वर्षदेखि सरकारीमा भर्ना गरेको हुँ।’ उनले छोरीलाई वीरेन्द्रनगरको जन माविमा कक्षा ९ मा भर्ना गराएका छन्।
वीरेन्द्रनगरका धनेश्वर उपाध्यायले पनि छोरा दीनबन्धुलाई जन माविमा कक्षा ६ मा भर्ना गराए। मन्टेश्वरी हुँदै कक्षा पाँचसम्म बोर्डिङ स्कुलमा अध्ययन गरेका दीनबन्धु सरकारीमा पढ्न पाउँदा खुसी छन्। ‘बोर्डिङ स्कुलको भन्दा राम्रो शैक्षिक वातावरण छ, पढाइ पनि राम्रो छ’, उनले भने, ‘बोर्डिङभन्दा सरकारी स्कुल हरेक कुरामा राम्रो पाएँ।’
कक्षा आठसम्म बोर्डिङ स्कुलमा अध्ययन गरेका सन्दीप खत्री वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत माविमा भर्ना भएका छन्। श्रीकृष्णमा नेपालीसँगै अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। केही अघिसम्म राम्रो शिक्षाको खोजीमा सरकारी स्कुलबाट बोर्डिङमा जाने परम्परा थियो। अहिले बोर्डिङ छोडेर सरकारीमा आउने लहर चल्न थालेको छ। सरकारी स्कुल भन्नेबित्तिकै नाक खुम्च्याउने अभिभावक अहिले छोराछोरीलाई सरकारी स्कुलमा भर्नाका लागि ‘सोर्सफोर्स’ लगाउने गर्छन्। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।